मृत्यु वा जन्म?

―    प्रदीप भण्डारी
  कसैले अनायाशै सोधिदिएको प्रश्न थियो यो ― 'तिमी जन्म र मृत्युमा कुन चाहन्छौ?' प्रश्न 'धान कि त्रिशुल?' भनेजस्तै सहज थियो तर उत्तर निकै कठीन किनभने यो प्रश्नको उत्तर प्रश्नजत्तिकै सहज छैन् , यसमा गहिराई लुकेको छ , यसले सानो पोखरीजस्तो होईन् ठूलो सागरजस्तो आधार बोकेको छ।
                                      एकपटक स्वर्गका राजा इन्द्रले कुनै अपराध गर्न पुगेका थिए जसको कारण देवर्षी नारदले उनलाई पृथ्वीमा सुँगुरको जन्म पाउने श्राप दिनुपर्यो। स्वर्गका राजा इन्द्रलाई सुँगुरको रुपमा जन्मन मन थिएन तैपनि देवर्षीको श्रापका सामू उनको के नै लाग्थ्यो र? उनी पृथ्वीमा सुँगुर भएर जन्मिए। समयको अन्तरालसँगै उनी विवाह बन्धनमा बाँधिए , दर्जनौं बच्चाहरुका पिता एवम् सुँगुरको समूह नाइके बन्न पुगे। स्वर्गका राजाले सुँगुर जुनीको आनन्द लिइरहेका थिए। उनी आफ्ना सन्तान एवम श्रीमतीसँग खेल्न , साथीभाईहरुसँग ठट्टा गर्न एवम मानिसहरुको दिसामा आनन्द मान्न थाले। उता स्वर्गमा भने राजाको अभाव सिर्जना भएर कोलाहल मच्चिन थाल्यो। यो खबर नारदजीसामू पनि पुग्यो। नारदजीलाई स्मरण भयो कि स्वर्गका राजा इन्द्र त अहिले पृथ्वीमा सुँगुरको जुनी बिताइरहेका छन्। तत्कालै नारदजी पृथ्वीमा गएर सुँगुररुपी इन्द्रलाई उनी वास्तवमा सुँगुर नभएर स्वर्गका राजा इन्द्र भएको कुरा बताउनु भयो एवम उक्त सुँगुरको जुनी त्याग गरेर स्वर्ग जान भन्नुभयो तर त्यतिनजेल इन्द्रलाई उक्त सुँगुर शरीरप्रति आशक्ति उत्पन्न भैसकेको थियो। उनले देवर्षीको कुरामा ध्यान दिएनन् बरु आफू आफ्ना परिवार एवम् इष्टमित्रसँग तथा मानव दिसासँग निकै खुसी भएको बताए। एवम् आफ्ना  सन्तान एवम श्रीमती उनीमाथि नै आश्रित रहेकाले उनीहरुको लालनपालन र सुरक्षाका लागी सुँगुर नै रहनुपर्ने तर्क गरे। यसबाट नारदजी अचम्मित पर्नु भयो कि स्वर्गको सुख त्यागेर स्वर्गका राजा इन्द्र दिसामा आनन्द पाउन तयार छन्। क्यै सीप नलागेपछि अन्तत: नारदजीले दया गरेर इन्द्रलाई सुँगुरको जीवन मृत्यु गराईदिई स्वर्गमा फर्काईदिनुभयो।
यो कथामा हाम्रो प्रश्नको उत्तर लुकेको छ। शुरुमा इन्द्र धरतीमा सुँगुरको योनीमा जन्मन तयार थिएनन् अर्थात जन्म लिन चाहेनन् भने सुँगुर जुनीमा आशक्त भएपछि त्यहाँबाट मृत्यु चाहेनन्। अर्थात यो जन्म या मृत्यु भन्ने विषय यस्तो गहन छ कि स्वर्गका राजा इन्द्रजस्ता देवताहरु समेत भ्रमित बन्न पुग्छन् , सही निष्कर्षमा पुग्न सक्दैनन्। यसको निष्कर्ष वा उत्तर स्वयम: भगवानबाट नै सम्भव छ।
माथिको कथाबाट यो कुराचाहिँ प्रष्ट बुझ्न सकिन्छ कि भौतिक आशक्तिले नै हामीमा जन्म एवम् मृत्युप्रति एक प्रकारको मानसिकता बनाईदिन्छ। हामीहरु न त जन्मप्रति नै आशक्त हुनुपर्छ न त मृत्युप्रति नै किनभने जन्म एवम् मृत्यु दुबै यस भौनिक संसारका उपज हुन। भगवद्―गीता १३.९ मा स्वयम् भगवान श्रीकृष्णले भन्नुभएको छ ― 'जन्ममृत्युजराव्याधिदुखदोषनुदर्शनम'। जन्म , मृत्यु , रोग , बुढेसकाल यी दु:ख  हुन्  एवम् दोष हुन्। अर्को अर्थमा भन्नुपर्दा यी कुराहरु भौतिक  संसारका उपज हुन् , विशेषता हुन्। भौतिक जगतको गुण नै दु:ख हो ( दु:खआलय अशाश्वतम् ―भ.गी. ८.१५) आध्यात्मिक जगतमा यी दोषहरु हुँदैनन्। आत्माको न त जन्म हुन्छ न त मृत्यु नै ( न जायते म्रियते ―भ.गी २.२० )। आध्यात्मिक जगतमा कुनै दु:ख हुँदैन् अर्थात जन्म मृत्यु हुँदैन्। जन्म र मृत्यु शरीरसँग सम्बन्धित कुरा हुन्। हाम्रो वास्तविक परिचय आत्मा हो जुनचाहीँ भगवानको नित्य सेवक हो। यो आत्मा कारणवश आफ्नो वास्वविक घर 'आध्यात्मिक जगतदेखी टाढा भौतिक जगतमा स्थानान्तरित भएको छ  र पञ्चमहाभूत एवम सुक्ष्म तत्वद्वारा निर्मित शरीरमा  अवस्थित भएको छ। उसले गर्ने विभिन्न कर्महरुको नियमानुसार कहिले कुन त कहिले कुन जुनीमा जन्म र मृत्यु प्राप्त गरिरहेको छ। शरीर निरन्तर परिवर्तन भैरहेको छ। श्रील प्रभुपादजी भन्नुहुन्छ कि हामीहरु हरघडी जन्मिरहेका छौँ एवम् मरिरहेका छौँ। आत्मा एकदेखी अर्को शरीरमा डुलिरहेको छ। वास्तवमा आत्माले एक शरीर छाडेर अर्कोमा जान्छ। काम नलाग्ने शरीर त्याग्नु मृत्यु हो र नयाँ शरीर प्राप्त गर्नु जन्म।
भगवानले भगवद ―गीतामा भन्नुभएको छ ―
 ' देहिनोस्मिन् यथा देहे कौमारं यौवनं जरा।
तथा देहान्तर प्राप्तिर्धीरस्तत्र न मुह्यति।।
अर्थात , जसरी यो शरीरधारी आत्मा निरन्तर बाल्यावस्थावाट युवावस्थातिर र युवावस्थाबाट वृद्धवस्थातिर सर्किरहेको छ त्यसै गरि यो आत्मा एउटा शरीरको मृत्यु पछि अर्को शरीरमा सर्छ। यस किसिमको परिवर्तनलाई देखेर धीर पुरुषहरु आत्तिदैनन्।
अत: बुद्धीमान व्यक्ति न त जन्म नै रोज्छ न त मृत्यु नै। ऊ यो जन्म र मृत्यु दुवैको चक्रबाट माथि उठन प्रयास गर्छ। ऊ पुन: आध्यात्मिक जगतमा फर्कन चाहन्छ। अनि त्यसका लागि पूर्वाधार खडा गर्न लागिपर्छ। आध्यात्मिक जगतको आनन्दप्राप्ती रोक्ने तथा इन्द्रले सुँगुर शरीरमा पाएकोजस्तो सुखमा ऊ रुमलिँदैन्। स्वर्गादी उच्च लोकमा जन्मेर भौतिक सुख भोग्ने इच्छा राख्दैन अनि जीवनदेखी वाक्क भएर आत्महत्याको बाटो पनि रोज्दैन्। बरु जन्म एवम् मृत्यु दुवैलाई भगवानको जिम्मा लगाएर भगवानकै धाम फर्कन जीवनमा एकपल पनि खेर फाल्दैन्। भगवान स्वयम्ले भन्नुभएको छ ―
'मन्मना भव मद्भक्तो मद्धाजी मां नमस्कुरु।
मामेवैष्यसि युक्त्वैवमात्मानं मत्परायण।।' ―भ.गी ९.३४
अर्थात ' मनलाई सँधै मेरै चिन्तनमा लगाऊ , मेरै भक्त बन , मेरै पूजा गर। यसरी पूर्णयता मैमा तल्लीन भएपछि  तिमीले निश्चय नै मलाई प्राप्त गर्नेछौ।
यसरी ऊ निरन्तर भगवानको भक्ति गर्न लागिपर्छ। निरन्तर जपिरहन्छ ―
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे।
हरे राम हरे राम राम राम हरे हरे।।                 

     – श्रील प्रभुपादकी जय


VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das