श्रीमद् भगवद् गीता—सार्थकता

“गीता” शब्दको अर्थ कुनै पनि पद्य लयमा श्रीभगवान्को विषयमा वा श्री भगवान्द्धारा गाईएको गीत हो ।
    यस ग्रन्थमा श्रीभगवान्ले आत्मा के होे, त्यसको पुनरावृत्ती कसरी हुन्छ, त्यसको अस्तित्व कस्तो छ र त्यसले कसरी आफ्नो कर्म अनुसार विभिन्न योनिका विभिन्न शरीरमा प्रवेश गर्दछ भन्ने बारेमा वर्णन गर्नुभएको छ । यस ग्रन्थमा प्राणीले यस धरातलमा जन्म लिएर के कस्ता कार्य गर्न पर्दछ र के गर्न हुदैन त्यसबारे वर्णन गरिएको छ । श्रीमद् भगवद् गीताका प्रत्येक श्लोकले मानव जीवन कसरी अघि बढाउन सकिन्छ भनेर निर्देश गर्दछ । यदि मानिसले गीताका प्रत्येक श्लोकलाई ध्यानपूर्वक अध्ययन गरेर त्यसको अनुसरण गरेमा उसको जीवन यस संसारमा रहुन्जेल सुखमय हुन्छ भने मृत्यु पश्चात उसले मोक्ष प्राप्त गर्दछ । त्यसैले भनिएको छ — “गीतागङ्गोदकं पीत्वा पुनर्जन्म न विद्यते “ अर्थात जसले गीता रुपी गंगाको पान गर्दछ वा पिउदछ उसको पुनर्जन्म हुँदैन उसले मोक्ष प्राप्त गर्दछ ।
    हामी यस दुःखै दुःखले भरिएको संसारमा आएका छौं यहाँ हामीले आफुले आफुलाई जतिसुकै सुखी छु भन्ने ठानेपनि वास्तवमा हामी सुखी छैनौं । किनभने यो संसारमा हामीले सुखको तुलना धन सम्पत्ती र त्यसबाट प्राप्त हुने नै भौतिक सुख सुविधाका वस्तुसँग गर्दछौं । त्यसैले गर्दा सर्वप्रथम धन प्राप्त गर्न नै धेरै परिश्रम गर्न पर्दछ । त्यस अवस्थामा पनि दुःख हुन्छ त्यसको संरक्षण गर्न दुःख नै हुने गर्दछ । जब धन प्राप्त हुन्छ त्यसको संरक्षण गर्न दुःख हुन्छ । यदि त्यस धनबाट कुनै वस्तु खरिद गर्दा बढी मुल्य भुत्तान गर्नुपरेमा त्यो अवस्थामा पनि दुःखको नै अनुभव हुन्छ । धनबाट सुनचाँदी हीराका गहना खरिद गरिन्छ तर त्यस पछि पुनः ती वस्तुको चोरी हुनबाट कसरी सुरक्षा गर्ने भनेर पुनः दुःख नै हुन्छ । सुरक्षित राख्दा राख्दै पनि चोरी भयो भने पुःन दुःखनै हुन्छ । आफ्नो इच्छा नहुँदा पनि परिवारका सदस्यले अनाहक वा उनिहरुका इच्छा पूर्ण गर्नका लागि त्यो धन खर्च गरे भने पनि त्यसबाट दुःखनै हुन्छ । यदि आफुलाई इच्छा भएको वस्तु खरिद गरेर त्यस वस्तुको उपभोग गरेर सुख प्राप्त गरे पनि केही समय पश्चात सोही वस्तुबाट दुःख हुन्छ । त्यसैले यस संसारमा हामीले साहै्र दुःख गरेर प्राप्त गरेको धनबाट प्राप्त भौतिक वस्तुबाट पनि केही क्षण सुख भए पनि अन्तयमा दुःख नै भएको हुन्छ ।
    त्यो सबै किन हुन्छ त भन्दा हामीलाई हामीले गर्न पर्ने कर्म के हो र गर्न नहुने कर्म के हो त्यसको बारेमा जानकारी नै छैन । त्यसका बारेमा श्रीभगवान्ले यस ग्रन्थका माध्यमबाट सरल भाषामा हामीलाई जानकारी दिनुभएको छ ।
    जब हामी यस संसारमा आउँछौ हाम्रो पूर्व जन्मको कर्म अनुसार यस जन्ममा हाम्रो लागि कर्म निश्चित गरिएको हुन्छ । त्यसैले हामीले सोही अनुसार कार्य गर्नुपर्दछ । भगवान् श्रीकृष्ण गीतामा भन्नुहुन्छ नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्यकर्मणः गीता ३।८ आफुलाई निश्चित गरिएको कर्म गर । तर हामी भने आफुलाई तोकिएको कर्म नगरेर अन्य कर्म गर्नका लागि उत्सुक हुन्छौं । अनि प्रत्येक पाईला पाईलामा दुःख मात्र पाउँदछौं वा असफल हुन्छौं । तैपनि हामी त्यो कुरालाई बुझ्न नसकेर पुनः पुनः त्यही कार्य गर्दछौं र पुनः पुनः असफल भएर दुखित हुने गर्दछौं । त्यसो हुनुमा हाम्रो ज्ञानलाई अज्ञानताको अन्धकारले ढाकेर राखेको अज्ञानता हट्दछ अनि हामीले हामीलाई तोकिएको कर्म कुन हो भनेर जान्न सक्दछौं अनि सोहि अनुसार कार्य गरेर सफलता प्राप्त गर्न सक्दछौं ।
    यसरी आफुलाई तोकिएको कार्य गर्दै श्रीभगवान्को सेवा गय्रौं भने हामीले पूर्ण सफलता वा मोक्ष प्राप्त गर्न सक्दछौं । श्रीभगवान् गीतामा भन्नुहुन्छ स्वे स्वे कर्मण्यभिरतः संसिद्धि लभते नरः १८।४५ सफलता कसरी प्राप्त गर्न सकिन्छ त्यसका बारेमा वर्णन गर्दै श्रीभगवान् भन्नुहुन्छ यतः प्रवृत्तिर्भूतानां येन सर्वमिदं ततम् । स्वकर्मणा तमभ्यच्र्य सिद्धिं, विन्दति मानवः।।१८।४६ जसबाट सम्पूर्ण प्राणीको उत्पत्ति भएको छ जो सर्वव्यापी छ त्यस्ता श्रीभगवान्को पूजा गर्दै आफुलाई तोकिएको कर्म गरेमा मानिसले सिद्धि पाउन सक्दछ ।
    यसरी गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई निमित्त बनाएर यस कलियुगका मन्द बुद्धि भएका प्राणीले के कस्तो कार्य गरे भने यस दुःखै दुःखले भरिएको संसारबाट मुक्त हुन सक्दछन भन्ने उपदेश प्रदान गर्नुभएको छ । त्यसैले हामीले यस श्रीमद्भगवद् गीतालाई केवल सनातन धर्मावलम्बीको लागि मात्र प्रदान गरिएको ग्रन्थ हो भनेर सोच्नु हुँदैन । किनभने यो ग्रन्थ यस संसारका सम्पूर्ण प्राणीका लागि हो । तर यी कुरा बुझ्न नसकेर केही समय पहिला रसिया देशमा यी ग्रन्थको अध्ययन गरे सबै हिन्दु हुनेछन् र यो केवल हिन्दु धर्म प्रचार गर्नका लागि भनेर यसको प्रचार प्रसार गर्न त्यहाँको विद्यान सभामा प्रस्ताव लगेर केही समयका लागि प्रतिबन्ध लगाईएका थियो तर पछि न्यायलयको फैसलाले पुनः त्यो प्रतिबन्ध हटाईयो र अहिले त्यहाँ धे्र्ररै व्यक्तिले गीताको अध्ययन गरेर अनुसरण गर्दै सनातन धर्म अवलम्बन गरेका छन् ।
    श्रीमद् भगवद् गीताको प्रसङ्गमा अन्तराष्ट्रिय कृष्णभावनामृत संघका संस्थापक आचार्य श्री श्रीमद् अभय चरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपादले भन्नुभएको छ “ यो ग्रन्थ विश्वका सबै प्राणीका लागि हो र यो कुनैपनि व्यक्ति विशेष र सम्प्रदायका लागि होइन “ । त्यसैले वहाँले यो ग्रन्थको सरल अनुवाद गर्दा जसरी भगवान् श्रीकृष्णले अर्जुनलाई जसरी भन्नुभएको थियो सो रुपलाई नबिगारी यथारुप अनुवाद गरेर सर्व साधारणलाई प्रदान गर्नुभएको छ । वहाँको अनुवाद यथारुप भएको कारणले विश्वका विभिन्न कलेज स्कूलमा अध्ययन अध्यापन पनि गरिन्छ र पाश्चात्य देशले यसलाई सजिलै ग्रहण गरेका छन् ।
    हामीले के बुझ्न पर्दछ भने गीता कुनै पनि एउटा सम्प्रदाय वा जाती विशेषका लागि भनिएको होइन यो त यस संसारको दुःखै दुःखमा डुबेका सम्पूर्ण प्राणीका लागि प्रदान गरिएको हो त्यसैले श्रीभगवान् भन्नुहुन्छ— सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज ।१८।६५ सबै प्रकारका धर्मलाई त्यागेर श्रीभगवान्को शरणमा जानुनै सर्वोत्तम कार्य हो । यदि त्यसो गर्न सक्यौं भने हामी यस संसारमा रहदा रहदै पनि हामी दुःखबाट मुक्त भएर सुखको अनुभव गर्न सक्नेछौं । श्रीभगवान् भन्नुहुन्छ — ब्रहमभूतः प्रसन्नात्मा न शोचति न काङ्गति । समः सर्वेषु भूतेषु मद्भक्तिं लभते पराम् ।।१८।५४ “जब मानिसले ब्रहम वा भगवान्को बारेमा जान्दछ उसको आत्मा सधैं प्रशन्न हुन्छ र उसले शोक पनि गर्दैन र कुनै कुराको इच्छा पनि गर्दैन । यस्तो व्यक्तिले सबै प्राणीमा समानभाव राख्ने हुनाले भगवान्को परम् भक्ति प्राप्त गर्दछ ।”
    अब भन्नुहोस जसले गीताको अध्ययन गर्दछ उसले सबै प्राणीमा समान भाव राख्ने हुनाले सबैलाई आफु समान ठान्दछ । जसले गर्दा संसारमा शान्ति स्थापित हुन सक्दछ । अहिले मानिस आफुलाई तोकिएको कर्म भन्दा बाहिर गएर अन्य कर्म गरिरहेको हुनाले एक अर्का प्रति समानताको व्यवहार स्वरुप विश्वमा जताततै युद्ध, झै—झगडा, द्धन्द, संघर्ष र शत्रुताको भावना देखा परिरहेको छ । यदि मानिसले गीताले दिएको उपदेशको मनन गर्दै त्यसको अनुसरण गरे उसले शाश्वत शान्ति प्राप्त गर्न सक्नेछ र एक अर्का प्रति समानताको व्यवहार गर्न सक्नेछ जसले गर्दा विश्वमा शान्ति स्थापना हुनेछ ।
    श्रीमद् भगवद् गीतामा भगवान् श्रीकृष्णले त्यही सन्देश प्रवाह गर्नु भएको छ ।
                                अस्तु
श्रीकृष्णार्पणमस्तु

    महामन्त्र
        हरेकृष्ण हरेकृष्ण कृष्ण कृष्ण हरे हरे ।
        हरेराम हरेराम राम राम हरे हरे ।।
           
जपेर आफ्नो जीवन सार्थक बनाउनुहोस् ।
   


त्यसो त सनातन धर्मका शास्त्रहरुमा धेरै प्रकारका गीता छन् जस्तै श्रीमद् भगवत् गीता, उद्धव गीता, गुरु गीता, अष्टावक्र गीता, राम गीता, आदि । ती मध्ये श्रीमद् भगवत् संसारमा सबै भन्दा धेरै भाषामा अनुवाद गरिएको ग्रन्थ हो । यस कार्यले गीता यस संसारका लागि अति आवश्यक ग्रन्थ हो भनेर पुष्टि गर्दछ । आजको दिनमा नै आज भन्दा करिब पाँच हजार वर्ष अघि कुरुक्षत्रको युद्धस्थलमा आफ्नो क्षत्रिय धर्मबाट विमुख भएर युद्ध गर्ने कार्य गर्न नखोजेका अर्जुनलाई माध्यम बनाएर भगवान् श्रीकृष्णले प्राणी सबैलाई आवश्यक कार्यको उपदेश दिनुभएको थियो ।

0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das