दुर्लभ सुदुर्लभ ---भगवद् दर्शन लेख (लेखक : परमेश्वर अच्युत दास )

 ( www.krishnaupdate.com, Back To Godhead Magazine, Nepal )

prameshwor achyut das
सारा सृष्टी चक्रमा हामीमात्रै यस्ता जीव हौँला जसको भाग्य न त ब्रह्मासँग तुलना गर्न सकिन्छ न त अन्य कोहीसँग नै । कारण केवल एक नभएर अनेक छन् । हामी यस धरतीमा यस्तो कालखण्डमा मानव शरीर धारण गरेर आउन पाएका छौँ जुन प्राप्त गर्न प्राय: असम्भव नै हुन्छ ।वैदीक शास्त्रहरुमा प्राणीहरु ८४ लाख प्रजाती भएको जानकारी पाईन्छ । हामीहरु पनि हामीहरुको चेतना अनुसार कहिले निम्न त कहिले उच्च स्तरमा यसै चौरासी लाखमा भौँतारिरहेका हुन्छौँ । तीमध्ये ४ लाख प्रजाती मनुष्य प्रजाती पर्ने गर्छन् ।केवल ४ लाख प्रजाती ओगटने मनुष्य सबैभन्दा उच्च कोटीको मानिएको छ । कारण, मानव जीवनमा केही त्यस्ता कुराहरु उपलव्ध छन् जसलाई प्राप्त गर्न अन्य प्रजातीहरु असमर्थ छन् ।
जन्म–मृत्युको चक्रसँगै जीवहरु कहिले निम्न त कहिले उच्च कोटीमा आउने गर्छन् । यो प्रक्रिया उनीहरुले गर्ने कर्म र त्यसको प्रकृतीमाथी निर्भर गर्छ । उनीहरु कहिले प्राय: जडजस्तै वृक्ष शरीर प्राप्त गर्न पुग्छन् त कहिले किरा–फटयाङ्ग्राको शरीर । यस्तै कहिले कुकुर बिरालो त कहिले मानव एवम् देवता । यो प्रक्रिया एकदमै लामो छ । यो चौरासी लाखको चक्रमा फसेपछि उन्मुक्ति पाउन प्रायस्  असम्भव नै छ । यो चक्रबाट मुक्ति पाउन कुनै विशेष अवस्थाबाहेक केवल मानव जुनीमा नै आउनुपर्छ । तर चौरासी लाखको चक्रमा मानव जुनी पाउनु त्यती सहज छैन् । श्रील भक्तिविनोद ठाकुरजी  ‘कल्याण कल्पतरुमा भन्नुहुन्छ – दुर्लभ मानव जन्म ‘ अर्थात यो मानव जीवन अत्यन्त दुर्लभ छ । 
लाखौँ , करोडौँ प्राणीहरुमध्ये मुस्किलले एक दुई जीवहरुले मानव शरीर प्राप्त गरेका हुन्छन् । यो मानव शरीर यती धेरै मुल्यवान   किन छ भने यस प्रजातीमा उच्च बौद्धिकता छ, यसैले मात्र जीवन र जगतको मूल्य थाहा पाउन सक्छ , यसको पछि रहेको कारण थाहा पाउन सक्छ अनि भगवानको बारेमा जान्न एवम् बुझ्न सक्छ । यो जुनी नै एक मात्र यस्तो जुनीे हो जहाँबाट सदुपयोग गरेर माथि पनि जान सकिन्छ र दुरुपयोग गरेर निम्न जुनीमा पनि । यो शरीरको सदुपयोग गरेर भगवानको बारेमा जानेर भगवानसँग नजिक पनि हुन सकिन्छ । त्यसैले वेदान्तसुत्रको शुरुमै भनिएको छ – अथातो ब्रह्म जिज्ञासा अर्थात तिमीहरुले अब मानव जीवन पाएका छौ यसलाई ब्रह्मको जिज्ञासा गर्न लगाओ । यसबाट यो कुरा प्रष्ट हुन्छ कि केवल मानव शरीर धारण गरेपछि नै हामी ब्रह्मको बारेमा जिज्ञासा गर्न सक्छौँ , यो चौरासी लाखको चक्रबाट मुक्त हुन सक्छौँ । यस्तो विशिष्ट कारणले गर्दा मानव जीवन प्राप्त गर्नु अति दुर्लभ मानिएको छ ।
मानव जीवन प्राप्त गर्नु दुर्लभ छ नै त्यसमा पनि अहिलेको यो कालखण्डमा यस धरतीमा जन्म लिन पाउनु झनै दुर्लभ छ । त्यो कसरी ? यसको पछि धेरै कारणहरु हुन सक्छन् तर एकै वाक्यमा भन्नुपर्दा यो यस्तो कालखण्ड हो  जुनमा सारा जगतकै सबैभन्दा बहुमुल्य चीज कसैले सित्तैमा बाँढिरहेको छ त्यो पनि योग्यता नभएकाहरुलाई समेत । अझै सरल रुपमा भन्नुपर्दा स्वयम भगवान श्रीकृष्ण यस धरतीमा आउनुभएको केवल ५ हजार वर्ष मात्रै भएको छ र अझै महत्वपूर्ण कुरा उहाँ स्वयम नै श्रीचैतन्य महाप्रभुको रुपमा करिव ५०० वर्ष अघि आएर अति दुर्लभ कृष्णप्रेम योग्यता नभएकालाई समेत निशूल्क बाँढनु भएको छ । यस्तो कालखण्ड  पुनस्  आउन अब करोडौँ वर्ष कुर्नुपर्ने हुन्छ ।
आदिपुरुष भगवान श्रीकृष्ण एवम् श्रीचैतन्य महाप्रभु ब्रह्माको १ दिनमा एकपटक मात्रै आउनुहुन्छ जबकी अन्य अवतार छिटो आउने गर्नुहुन्छ । ब्रह्माको १ दिन पृथ्वीको समयानुसार हिसाब गर्दा निकै लामो छ । ब्रह्माको १ दिनमा सत्य , त्रेता, द्वापर र कलिको चक्र हजार चोटी घुमिसक्छ । यति नै अवधीको ब्रह्माको रात हुन्छ । भगवद्–गीतामा भगवान स्वयम्ले भन्नुभएको छ –
सहस्रयुगपर्यन्तमहर्यन्तमहर्यदब्रह्मणे विदुस् ।
रात्रिं यगसहस्रान्तां तेहोरात्रविदो जनास् ।। ८.१७
अर्थात ‘मानवीय गणना अनुसार एक हजार युग मिलेर ब्रह्माको एक दिन हुन्छ र त्यती नै समयको उहाँको एक रात्रि पनि हुन्छ । ‘
माथि नै उल्लेख गरिए अनुसार ब्रह्माको एक दिनमा सत्य , त्रेता , द्वापर र कलिको एक चक्र हजार पटक घुमेपछि र यती नै अवधीको रात बितेपछि मात्रै भगवान श्रीकृष्ण एवम् श्रीचैतन्य महाप्रभु यस धरतीमा आउनुहुन्छ । सत्य युग १७,२८,००० वर्षको हुन्छ । त्रेता युग १२,९६,००० वर्षको हुन्छ भने द्वापर युग ८,६४,००० वर्षको हुन्छ र कलियुग ४,३२,००० वर्षको हुन्छ । यस्ता युग १००० चोटि घुमेपटि ब्रह्माको १ दिन हुन्छ र यती नै अवधीको रात पनि हुने गर्छ । अर्थात ब्रह्माको १ दिन र १ रात मिलेर मानव गणना अनुसार
[{१०००* -१७,२८,००० + १२,९६,००० + ८,६४,००० + ४,३२,०००_}*= ८६,४०,००,००]  ८६ करोड ४० लाख वर्षको हुन्छ । अत: भगवान श्रीकृष्ण एवम् श्रीचैतन्य महाप्रभु पुनस्  पृथ्वीमा आउन  ८६ करोड ४० लाख वर्ष प्रतिक्षा गर्नुपर्छ । हामीहरु कति भाग्यमानी छौँ भने श्रीकृष्ण भगवान पृथ्वीमा आउनुभएको केवल ५००० वर्ष भयो र श्रीचैतन्य महाप्रभु आएको केवल ५०० वर्ष मात्रै । अत:  यस्तो अवधीमा हामी धरतीमा आउनु अति दुर्लभ कुरा हो । माथि बताईए अनुसार  यसै कालखण्डमा दुर्लभ मानव जीवन प्राप्त गर्नु झनै दुर्लभ कुरा हो ।
यसरी एक त मानव जीवन नै एकदमै दुर्लभ छ त्यसमाथी यो कालखण्ड । यी दुवै कारणको पछि अर्को झनै दुर्लभ पक्ष लुकेको छ । त्यो हो – कृष्णभक्ति । कृष्णभक्ति जसको अवश्य कृष्ण प्रेम हो सो अनुशरण गर्नु अति नै सुदुर्लभ रहेको छ । भगवद्–गीतामा स्वयम् भगवानले भन्नुभएको छ –
बहूनां जन्मनामन्ते ज्ञानवान्मां प्रपद्मते ।
वासुदेव सर्वमिति स महात्मा सुदुर्लभ ।।
७.१९
अर्थात ‘ अनेकौं जन्मजन्मान्तरपछि वास्तविक ज्ञानी भक्त मलाई नै समग्र कारणहरुका पनि कारण ठानेर मेरै शरणमा आइपुग्छ । यस्तो महात्मा अत्यन्त दुर्लभ हुन्छ ।‘
यहाँ प्रष्टै रुपमा भनिएको छ कि मानिसले अनेकौ जन्म लिएपछि पनि भगवानको भक्तिसम्म आइपुग्न गाह्रो हुन्छ । भगवान नै परम सत्य हुनुहुन्छ भनेर उहाँको शरणमा पर्ने व्यक्ति अत्यन्तै दुर्लभ हुन्छ ।
अझै भगवानले भन्नुभएको छ –
येषां त्वन्तगतं पापं जनानां पुण्यकर्मणाम ।
ते द्वन्द्वमोह निर्मुक्त भजन्ते मां दृढव्रता ।।
अर्थात जसले पूर्वजन्ममा र यो जन्ममा पनि पुण्यकर्म गरेका छन् र जसका पापहरु पूर्णरुपले निर्मुल भएका छन् तिनीहरु नै मोहको द्वन्द्वबाट मुक्त हुन्छन् र दृढतापूर्वक मेरा सेवामा तत्पर भइरहन्छन् ।
यसमा त अझै भगवानले उहाँको सेवामा तत्पर हुने व्यक्ति अनेकौँ जम्मका पुुण्य पश्चात मात्रै सोका लागि लागिपर्छन् भन्नुभएको छ । वास्तवमा भक्तिको विन्दुसम्म आइपुग्नु भनेको निकै कठीन प्रक्रिया हो भनेर स्पष्ट हुन सकिन्छ । अधिकांश व्यक्तिहरु किन अभक्त छन् भनेर पनि यसै श्लोकमा उत्तर छ । वास्तवमै लाखौँलाख मान्छेहरुमध्ये अति थोरै मात्र भगवद् जिज्ञासा राख्छन् , सिद्धिको स्तरसम्म पुग्छन् र त्यस्ता लाखौँ सिद्धहरुबाट मुस्किलले एक दुईले मात्रै भगवानको भक्ति प्राप्त गर्छन् । यो कुरा पनि भगवद्–गीतामा नै पुष्टि भएको छ –
‘मनुष्याणां सहस्रेषु कश्चिद्मतति सिद्धये ।
यततामपि सिद्धानां कश्चिन्मावेत्ति तत्वत ।।
यसरी हेर्ने हो भने भगवद्–भक्ति अत्यन्त दुुर्लभ हुन्छ । भक्त बनेर भगवानको नाम जप लगायतका सेवा गर्नु अत्यन्तै दुर्लभ हो । अत्यन्त भाग्यवान जीवले मात्रै भगवानको भक्ति गर्न सक्छन् । यस्तो समयमा मानव जीवन पाएर पनि यदि कसैले भक्ति गर्दैन भने त्यो ठूलो दुर्भाग्यको कुरा हो । सत्ययुग लगायत अन्य युगमा कृष्ण भक्ति प्राप्त गर्न अत्यन्त कठीन थियो । कलियुगमा केवल भगवानको नाम जपबाटै मात्र यो सम्भव छ । त्यसबेलाको हजारौँ बर्षको ध्यान तपस्याभन्दा कलियुगमा गरिने भगवद्–नाम जप अत्यन्त सजिलो तर प्रभावकारी छ । अहिले भगवानको हरेकृष्ण महामन्त्रलाई शास्त्रले सिफारिस गरेको छ । जसले पनि भगवानको भक्ति गरेको छ वा सोका लागि सोच एवम् प्रक्रियामा छ ऊ अत्यन्तै भाग्यमानी हो । श्रीचैतन्य चरितामृतामा भनिएको छ –
ब्ह्माण्ड भ्रमिते कोन भाग्यवान जीव ।
गुरु कृष्ण प्रसादे पाय भक्ति लता बीज ।।
यथार्थमै सारा ब्रह्माण्डभरमै सबभन्दा भाग्यवान जीव ऊ हो जसले कृष्णभक्तिको अभ्यास गरिरहेको छ , योग्य गुरुको छत्रछाँया पाएको छ ।
अतस्  मानव जीवन प्राप्त गर्नु नै अति दुर्लभ कुरा हो । यस्तो दुर्लभ जीवन प्राप्त गरेर पनि व्यर्थै फाल्नु अत्यन्त दु:खद कुरा हो । त्यसमाथि पनि स्वयम श्रीकृष्ण भगवान एवम् श्रीचैतन्य महाप्रभु यस धरतीमा आएपछि लगत्तैको कालखण्डमा हामीले यस्तो दुर्लभ जीवन पाएका छौँ । यसमा पनि भगवद्–भक्ति अनुशरण गर्नु अझै दुर्लभ कुरा हो । अत: यस्तो सुनौलो अवसर एकक्षण पनि खेर नफाली भगवद्–भक्ति अवलम्वन गर्नुपर्छ । नित्य जप्नुपर्छ –
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।
हरे राम हरे राम राम राम हरे हरे ।।

श्रील प्रभुपादकी जय

0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das