पुर्बीय संस्कृतिमा नारीको धरातल

-वल्लभ चैतन्य दास (ईस्कोन) :::

 आजकाल यस्ता कथित आवाज नारी स्वतन्त्रताको नाममा सुनिने गर्दछ:
-यदि पुरुषका १० केटी-साथीहरू छिन वा ३ श्रीमतिहरू छिन भने ऊ मर्द तर स्त्रीका २ केटाहरू मात्र साथी के भए उनी उत्ताउली
-यदि पुरुष मदिरा सेवन गर्छ भने त्यस्ता कृयाकलाप समाजमा पच्य तर स्त्री यदि मदिरा सेवन गर्छे त ऊ सस्ती भई …
-यदि पुरुष राति घर फर्किन्छ त यो साधारण तर यदि स्त्री राति घर फर्किन्छे त ऊ माथि शंका …
यी सबै कार्यमा स्त्रीले पनि समान अधिकार किन नपाउने?
तर एकपल्ट सोचौं। के यस्ता माग पूर्बीय समाजिक संरचनाको माग हो? के यी मागहरू पूर्बीय सभ्यताका धोतक हुन?
नारी बास्तबमा जननी हुन, माता हुन, के माताको बात्सल्य बहु-पुरुषको पाशोमा बाधिएको सुहाउला?
नारी संस्कार सिकाउने सर्जक हुन, के संस्कार सिकाउने सर्जकनै मदिरा/धुम्रपानको नशामा लठ्ठिएको सुहाउला?
नारी घरकी लक्ष्मी हुन, के लक्ष्मी घर बाहिर बरालिएको सुहाउला?
बिचार गरौ, के राष्ट्रको प्रधानमन्त्री जस्तो ब्यक्तित्वले "त्यों अल्लारेले भट्टीमा ठर्रा खादा केहि नहुने, मैले खादा यत्रो रडाको, मैले पनि पाउनुपर्छ" भन्न सुहाउला?
हिन्दु धर्म(पूर्बीय संस्कार)को धारणानुशार नारी भोग्या नभएर अनन्यताकी प्रतिक अर्धाङ्गिनी हुन, यज्ञमा पत्नी हुन र धर्मकर्ममा सह-धर्मिणी हुन। स्त्री घरकी मलिक्नी हुन भने पुरुष बाहिरका मालिक हुन, स्त्री र पुरुष मिलेर मात्र सच्चा घर बन्दछ अन्यथा यो कुटी मात्र बन्दछ। हाम्रो संस्कृतिमा दम्पति लोग्ने र स्वस्नीको सम्मिलित नाम हो, दुबै परस्पर अर्धांग हुन र एकै आत्माका दुई ब्यक्त स्वरुप हुन।
शारीरिक दृष्टिले स्त्री सदा निराश्रया हुन्छे तर हृदयको दृष्टिबाट ऊ पिता, पति र पुत्रको पनि आश्रय स्वरुप हुन्छे। स्त्री स्नेहको मुर्ति, प्रेमको अवतार र बात्सल्यको प्रतिमा हो, ऊ घरकी रानी हो, उसको प्रताप कुनै शारीरिक शक्तिले होइन अपितु प्रेम शक्ति, हृदय शक्ति र सेवा शक्तिले भएको हो।
सृष्टिका आदि स्रोत हुन नारी, नारी सृष्टि सिर्जनामा पुरुषका पूरक हुन। सृष्टि सिर्जनमा पुरुषको अंश बीज रुपमा रहेको छ भने नारी उर्बरा-श्यामला भूको रुपमा रहेकी छ। सिर्जना र बृद्धि नारीका प्रभुत गुण हुन। पुरुष जीबनको सैनिक हो। नारी उसकी श्री हो, सुषमा हो, सौंदर्य हो। पुरुष सभ्यता हो भने नारी संस्कृति हो। पुरुष मष्तिस्क हो भने नारी हृदय हो। पुरुष ज्ञान हो भने नारी भक्ति निष्ठां हो।
फुल पुरुष स्वरुप हो भने सुगन्ध नारी स्वरुप, अग्नि पुरुष स्वरुप हो भने उष्णता नारी स्वरुप, कृष्ण पुरुष स्वरुप हुन भने राधा नारी स्वरुप.... राधा बिना कृष्ण अपुर्ण छन त कृष्ण बिना राधा...
नारी पुरुषभन्दा श्रेष्ठ छिन। नारी बिना पुरुष अपुरो हुन्छ, पशु तुल्य हुन्छ।यसरी नारीकै अभिभाबकत्वबाट बिहिन भै पशु तुल्य भएको पुरुष सरह नै म नारी पनि हुन पाउनु पर्यो भनेको शुद्रको सोच हो।याद राखौ नारी नै पुरुषलाई माता वा अर्धांगिनी वा बहिनी वा असल मित्र बनि सही पथ देखाउछिन। जुन घरमा नारीको इज्जत छैन, जुन घरमा नारी नै उच्छ्रिन्कल छिन, जुन घरमा नारी नै मर्यादाहीन छिन, जुन घरमा नारी नै असामाजिक छिन्, त्यों घर नै नर्क सरह हुन्छ, त्यस घरका पुरुष आशुरी (शुर नभएका) हुन्छन्।
पश्चिमेलि बिकृत संस्कृतिको आधुनिकताको नाममा देखासिखिको तल्लो सोच भन्दा पुर्बीय नारी अबधाराणालाई नै आत्मसाथ गरी पुरुषका अभिभावकको रुपमा आफू(नारी)लाई उभ्याउने हाम्रा बेद, ऋषिमुनिका शिक्षालाई नै कार्यान्वयन गर्ने हाम्रो बैदिक सनातन धर्म पूर्बीय संस्कृति हो। आफ्नो बैदिक संस्कृतिको गर्ब गरौ। बैदिक सनातनधर्मी नारी भएकोमा गर्ब गरौ।


0 comments:

Post a Comment

VIDEO

Copyright © 2011-2014 Krishna Update All Right Reserved(Details Here >))| --By Paramesvara Acyuta Das